टर्की । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा हुने ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायत समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका विभिन्न समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनाललाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्ताल्या पुगेका मन्त्री खनाललाई नोभेम्बर ११ मा ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष डा. विनोद पौडेल, उपाध्यक्षद्वय मन्दिरा खत्री र डोरबहादुर खड्कालगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
संघले टर्कीमा नेपाली आवासीय दूतावास स्थापना गर्नुपर्ने मागलाई प्रमुख रूपमा उठाएको छ । दूतावास नहुँदा नेपाली नागरिकले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा आकस्मिक कन्सुलर सेवा लिन कठिनाइ भोग्नुपरेको भन्दै तत्काल नियमित घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, व्यक्तिगत श्रम स्वीकृतिका नाममा बिचौलिया र दलालबाट नेपाली नागरिक ठगिने क्रम बढेको भन्दै टर्कीका लागि व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत प्रक्रियाबाट मात्रै श्रमिक पठाउने व्यवस्था गर्न माग गरिएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण कानुनी जिम्मेवारी बहन गराउन तथा ठगीमा संलग्न कम्पनी र एजेन्टमाथि कडा कारबाही गर्न पनि संघले आग्रह गरेको छ ।
टर्कीमा कार्यरत नेपाली श्रमिकले सम्झौताअनुसार दैनिक आठ घण्टा काम गर्ने सहमति भए पनि व्यवहारमा १२ देखि १३ घण्टासम्म श्रम गर्नुपरेको संघको भनाइ छ । त्यस्तै, समयमा पारिश्रमिक नपाउने र उचित कारणबिना रोजगारीबाट हटाइने समस्या पनि रहेको जनाइएको छ । श्रमिकको कार्यसमय, सेवा–सुविधा र पारिश्रमिक सुनिश्चित गर्दै शोषणमा परेकालाई कानुनी सहायता उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ ।
घरेलु कामदार तथा स्याहारकर्ताका रूपमा कार्यरत नेपाली महिला श्रमिकको सुरक्षा र अधिकारको विषयलाई पनि ज्ञापनपत्रमा समेटिएको छ । निश्चित कार्यसमय र पारिश्रमिकको व्यवस्था नहुँदा महिला श्रमिक शारीरिक तथा मानसिक तनावमा पर्ने गरेको भन्दै सुरक्षित कार्यस्थल र निष्पक्ष कानुनी सुनुवाइका लागि टर्की सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।
यसैगरी, नेपाल–टर्कीबीचको कार्गो तथा कुरियर शुल्क घटाउन, समस्यामा परेका नेपाली श्रमिकको उद्धार गर्न र बाँकी पारिश्रमिक असुलीका लागि आवश्यक कानुनी सहयोग उपलब्ध गराउन स्थायी सरकारी संयन्त्र बनाउनुपर्ने माग गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको शव स्वदेश पठाउने तथा गम्भीर बिरामी र दुर्घटनामा परेका श्रमिकको उपचार र क्षतिपूर्तिका लागि आपत्कालीन कल्याणकारी कोष स्थापना गर्न पनि संघले प्रस्ताव गरेको छ ।
एनआरएनए टर्कीका महासचिव श्याम पाण्डेले हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खनालले विदेशमा समस्यामा परेका नेपालीको उद्धार र मानवीय सहयोगमा संघले गर्दै आएको भूमिकाको प्रशंसा गरे ।
टर्कीमा आवासीय नेपाली दूतावास नहुँदा कन्सुलर सेवा लिन कठिनाइ भइरहेको विषयमा सरकार जानकार रहेको बताउँदै मन्त्री खनालले तत्कालका लागि अवैतनिक कन्सुलमार्फत सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उक्त प्रक्रिया सरकारको स्वीकृतिको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले टर्कीमा आवासीय दूतावास स्थापना गर्ने सम्भावनाबारे पनि आवश्यक अध्ययन गरिने बताए ।
अवैधानिक माध्यमबाट तथा मौसमी कामदारका रूपमा ठूलो रकम खर्चेर टर्की पुग्ने नेपाली श्रमिकले अपेक्षाअनुसार रोजगारी नपाई अलपत्र पर्ने समस्या सरकारको जानकारीमा रहेको मन्त्री खनालले बताए ।
एनआरएनए टर्कीले उठाएका समस्या सम्बोधन गर्न नेपाल र टर्कीबीच द्विपक्षीय श्रम सम्झौता वा अन्य आवश्यक प्रक्रियामार्फत वैधानिक माध्यमबाट मात्रै श्रमिक पठाउने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
टर्कीमा नेपालीको सङ्ख्या बढ्दै जाँदा श्रमिकका समस्या पनि थपिँदै गएको भन्दै एनआरएनए टर्कीले प्रभावकारी कूटनीतिक संरक्षण, सुरक्षित वैदेशिक रोजगारी र उद्धार संयन्त्रको आवश्यकता औँल्याएको छ ।
विदेशमा श्रम गरेर नेपालको अर्थतन्त्रमा योगदान पुर्याइरहेका नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकार संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको जोड छ । ज्ञापनपत्रमा उठाइएका माग कार्यान्वयनका लागि समेत संघले सरकारसँग आग्रह गरेको छ ।
