विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल समाप्त भएसँगै कोशी प्रदेश प्रदेश प्रमुखविहीन बनेको छ । कात्तिक २४ गते खापुङको कार्यकाल सकिए पनि सरकारले अहिलेसम्म नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन । वैकल्पिक रूपमा अर्को प्रदेशका प्रमुखलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छैन ।
खापुङको कार्यकाल समाप्त भएको केही दिन बितिसक्दा पनि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया टुंग्याउन सकेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा खापुङ २०७८ साल कात्तिक २५ गते कोशी प्रदेशको प्रमुखमा नियुक्त भएका थिए ।
प्रदेश प्रमुखका रूपमा कार्यरत रहँदा खापुङ केही संवैधानिक विवादमा समेत मुछिएका थिए । २०८० असार २२ गते उनले सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई समेत समर्थनका रूपमा गणना गर्दै नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
तर, सभामुखको हस्ताक्षर प्रयोग गरेर बहुमत देखाइएको उक्त नियुक्तिलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । अदालतले साउन ११ गते नियुक्ति बदर गर्ने फैसला सुनाएको थियो ।
नेपालको संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पदावधि समाप्त भएपछि पद रिक्त हुने व्यवस्था छ । उक्त धाराको उपधारा (२) अनुसार प्रदेश प्रमुखको पद खाली भएको अवस्थामा नयाँ नियुक्ति नहुँदासम्म राष्ट्रपतिले अर्को प्रदेशका प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिन सक्ने प्रावधान छ ।
तर, कोशी प्रदेशको हकमा हालसम्म यस्तो वैकल्पिक व्यवस्था गरिएको छैन । न नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्, न त अन्य प्रदेशका प्रमुखलाई अतिरिक्त जिम्मेवारी दिइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार अर्को प्रदेशका प्रमुखलाई कोशीको जिम्मेवारी दिइएमा उनले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराउने, प्रदेशसभा अधिवेशन आह्वान तथा अन्त्य गर्ने र प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण गर्नेलगायत काम गर्न सक्नेछन् ।
यसैबीच, प्रदेश प्रमुखको कार्यालय कोशीकी सूचना अधिकारी सम्पूर्ण थापाले नयाँ प्रदेश प्रमुख नियुक्त भएकोबारे कार्यालयमा कुनै आधिकारिक जानकारी नआएको बताएकी छन् ।
उनका अनुसार कार्यालयमा हालसम्म इमेल वा टेलिफोनमार्फत नयाँ प्रदेश प्रमुख तोकिएको सूचना प्राप्त भएको छैन ।
‘आज सरकारी कार्यालयहरू खुल्ने भएकाले केही जानकारी आउँछ कि भन्ने हो,’ उनले भनिन्, ‘अहिलेसम्म इमेल वा फोनमार्फत प्रदेश प्रमुख तोकिएकोबारे जानकारी आएको छैन।’
