काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मकवानपुरको चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाबारे निष्पक्ष छानबिन गरी घटनाको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले दुर्घटनाको कारण पत्ता लगाउन सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, सवारीको प्राविधिक अवस्था कस्तो थियो र प्रहरी चेकपोस्टमा यात्रुको विवरण किन अद्यावधिक गरिएन भन्ने विषयमा प्रश्न उठाएका छन् ।
आज जारी विज्ञप्तिमार्फत आङदेम्बेले दुर्घटनामा कसको कमजोरी रह्यो भन्ने विषय स्पष्ट पार्न सम्बन्धित सबै पक्षको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । चेकपोस्टमा खटिएका प्रहरी तथा सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गरे वा गरेनन् भन्ने विषय पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको माग छ ।
यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाले ज्यान गुमाउँदा सरकारले छानबिन समिति गठन गरे पनि त्यसको प्रतिवेदन अझै सार्वजनिक नगरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
आङदेम्बेले दुर्घटनाको कारण सार्वजनिक नगरिनु र भविष्यमा यस्ता घटना रोक्न सरकारले चालेका कदमबारे जानकारी नदिनु गम्भीर विषय भएको उल्लेख गरेका छन् । हरेक दुर्घटनापछि छानबिन समिति गठन गर्ने, केही दिन चर्चा गर्ने र त्यसपछि घटना बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
नागरिकको ज्यानको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले सडक सुरक्षा, सवारीसाधनको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरी निगरानीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको उदासीनता कहिलेसम्म कायम रहने भन्दै उनले सडक सुरक्षामा तत्काल ठोस सुधार गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन र उनीहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन पनि आङदेम्बेले सरकारसँग माग गरेका छन् ।
#NepaliCongress #MakwanpurAccident #RoadSafety #BhishmarajAngdembe #DreamNewsNetwork
