काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान मोडेर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि इरान युद्धको आर्थिक र राजनीतिक प्रभावबारे आलोचना चुलिएको छ । यही परिस्थितिमा ट्रम्पले आफ्नो रणनीति परिवर्तन गर्दै भान्सलाई आन्तरिक मुद्दामा केन्द्रित हुन भनेका हुन् ।
ट्रम्पले इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरेका छन् । अमेरिकाले आफ्नो पैसा फिर्ता पाउनुका साथै होर्मुज जलघाँटीमाथि नियन्त्रण प्राप्त गरिसकेको उनको भनाइ छ । यद्यपि, आवश्यक परे इरानमाथि पुनः सैन्य आक्रमण गर्न आफू तयार रहेको उनले बताएका छन् ।
युद्ध अन्त्यका लागि इरानसँगको वार्तामा नेतृत्व गरेका भान्सले निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोग्नुको एउटा कारण इरान युद्ध पनि भएको टिप्पणी गरेका थिए ।
यसैबीच, इरानका प्रमुख वार्ताकार तथा संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गरेका छन् । तर, इरानको उक्त दाबीबारे अमेरिकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
उता, होर्मुज जलघाँटी आसपास तेल ट्यांकरमाथि आक्रमणका घटनासमेत भइरहेका छन् । यसले इरान युद्ध र त्यसको प्रभावबारे अन्तर्राष्ट्रिय चासो थप बढाएको छ ।
