काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले खुला तथा समावेशी प्रतिस्पर्धामार्फत रिक्त पद पूर्ति गर्न योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको हो ।
बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले आज सूचना जारी गर्दै प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुलाएको छ ।
राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा कर्मचारी माग गरेको छ ।
विज्ञापनअनुसार प्रशासन सेवातर्फ सहायक निर्देशक पदमा २६ जना, लेखा तथा लेखापरीक्षणतर्फ ३ जना र वाणिज्य कानुनतर्फ २ जना माग गरिएको छ । त्यस्तै, प्राविधिक सेवाअन्तर्गत सूचना प्रविधि विषयका सहायक निर्देशक पदमा ४ जना तथा प्रशासन सेवाको सहायक पदमा २६ जना गरी कुल ६१ जनाका लागि आवेदन खुलाइएको हो । वाणिज्य कानुनतर्फको विज्ञापन भने पुनः प्रकाशित गरिएको बैंकले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको अनलाइन प्रणालीमार्फत मंसिर १७ गतेसम्म नियमित दस्तुर बुझाएर आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन छुटेकाहरूले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म फारम बुझाउन पाउनेछन् ।
आवेदनका क्रममा उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, आवश्यक परे समकक्षताको प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति अपलोड गर्नुपर्नेछ ।
सहायक पदमा आवेदन दिने उम्मेदवारले लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्रसमेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
बैंकका अनुसार सर्वोच्च अदालतको परमादेशअनुसार समावेशी समूहसम्बन्धी आवश्यक कानुनी व्यवस्था भएपछि सोही व्यवस्थाबमोजिम पदपूर्ति प्रक्रिया अघि बढाइनेछ ।

