काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ। दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएका छन्।
समितिलाई दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।
कात्तिक २६ गते बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाने क्रममा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा थिए। अर्का मृतक सवारी चालक कविलासी नगरपालिकाका रहेको विज्ञप्तिमा उल्लेख छ।
घाइते ६ जनामध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
सरकारले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकेको जनाएको छ। त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम छिटो उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
कार्यालयले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
