कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो। टोलीका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ६० रन जोडे। त्यस्तै थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन बनाए।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। टोलीले केवल ८ रन जोड्दा चार महत्वपूर्ण विकेट गुमाइसकेको थियो। यस्तो कठिन अवस्थामा दोस्रो ओभरदेखि क्रिजमा रहेका दीपेन्द्रले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हाले।
उनले ५५ बलको सामना गर्दै पाँच चौका र दुई छक्कासहित ६० रन बनाए। दीपेन्द्र अन्तिम ओभरमा आउट भए। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए। एनपीएलमा दुई अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन्।
दीपेन्द्रले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट बाहिर निकाल्ने प्रयास गरे। आरिफले २५ बलमा एक चौकासहित १६ रन बनाए।
त्यसपछि दीपेन्द्र र थरिन्दु रत्नायकेले छैटौँ विकेटका लागि थप ५४ रन जोड्दै सुदूरपश्चिमको स्कोर १२५ रनसम्म पुर्याए। थरिन्दुले २३ बलमा तीन चौकाको सहयोगमा अविजित २६ रन बनाए।
काठमान्डु गोर्खाजका बलरमध्ये जहानदाद खान सबैभन्दा सफल रहे। उनले चार ओभरमा एक मेडन राख्दै २२ रन खर्चेर तीन विकेट लिए। सन्तोष यादवले तीन ओभरमा १६ रन दिँदै दुई विकेट हात पारे।
सन्तोषले दोस्रो ओभरमै ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई शून्य रनमा आउट गर्दै सुदूरपश्चिमलाई सुरुमै दबाबमा पारेका थिए।
