परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो। तीमध्ये शुक्रबारसम्म भारत, चीन र इजरायलबाट स्वीकृति प्राप्त भएको हो।
अग्रिमो प्राप्त गर्नेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्। उनीहरूको नाम संसदीय सुनुवाइ समितिले यसअघि नै अनुमोदन गरिसकेको थियो।
सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएसँगै उनीहरूको राजदूत नियुक्तिका लागि बाटो खुलेको छ। अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएपछि उनीहरूले सम्बन्धित देशमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। मन्त्रालय स्रोतका अनुसार सोमबारसम्ममा तीनै जनालाई नियुक्त गर्ने तयारी छ।
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको मिति नजिकिँदै गएकाले पनि भारतका लागि राजदूत नियुक्ति प्रक्रिया छिटो अघि बढाउन खोजिएको बताइएको छ। भ्रमणको तयारी तथा आवश्यक कूटनीतिक समन्वयका लागि राजदूतको उपस्थिति महत्त्वपूर्ण मानिएको छ।
यसैबीच अमेरिका, बेलायत, जर्मनीसहित बाँकी सात देशबाट भने प्रस्तावित राजदूतहरूको अग्रिमो आउन बाँकी छ।
कुनै देशमा राजदूत नियुक्त गर्नुअघि सम्बन्धित मुलुकबाट प्रस्तावित व्यक्तिलाई स्वीकार गर्ने औपचारिक सहमति लिनुपर्ने प्रक्रिया नै अग्रिमो हो।
