काठमाडौँ गोर्खाजलाई पराजित गरेपछि प्रतिक्रिया दिँदै धामीले आफ्नो टोलीको बलिङ युनिट उत्कृष्ट रहेकाले कम योगफलको लक्ष्य रक्षा गर्दा पनि दबाब महसुस नहुने बताए।
सुदूरपश्चिमले लगातार दुई खेलमा सामान्य लक्ष्य सफलतापूर्वक जोगाएको छ। टोलीले जनकपुर बोल्ट्सविरुद्ध १२० रन र काठमाडौँ गोर्खाजविरुद्ध १२६ रनको लक्ष्य रक्षा गरेको थियो। धामीले बलिङमा टोलीको राम्रो समन्वय र क्षमताका कारण यस्तो सफलता सम्भव भएको बताए।
उनका अनुसार ब्याटिङका लागि पिच त्यति सहज थिएन। त्यसैले पावरप्लेमा रन बनाउन ब्याटरलाई कठिन भएको थियो। डेथ ओभरमा बलिङ गर्दा अनावश्यक गति नदिने र ब्याटरको चाल तथा रणनीतिअनुसार बलिङ गर्ने योजना अपनाएको उनले जानकारी दिए।
हेमन्तले एनपीएलका सफल बलर स्कट कुग्गेलिनबाट पनि धेरै कुरा सिक्ने अवसर पाएको बताए। कुन परिस्थितिमा कस्तो बलिङ गर्ने भन्ने विषयमा कुग्गेलिनले आफूलाई सुझाव दिने गरेको उनको भनाइ छ। टोलीबाट राम्रो साथ पाएकाले डेथ ओभरमा बलिङ गर्न थप आत्मविश्वास मिलेको उनले उल्लेख गरे।
यता, काठमाडौँ गोर्खाजका खेलाडी गणेश गौतमले पावरप्लेमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।
उनका अनुसार बलिङतर्फ पनि टोलीले पावरप्लेमा राम्रो प्रदर्शन गरेको थियो। पिचले स्पिनरलाई साथ दिए पनि महत्त्वपूर्ण समयमा क्याच छुट्दा टोलीलाई समस्या परेको उनले बताए।
आफ्नो पहिलो खेलमा केही दबाब महसुस भए पनि यसपटक भने आत्मविश्वासका साथ बलिङ गरेको गौतमले जानकारी दिए। ट्यालेन्ट हन्टमार्फत टोलीमा प्रवेश गरेका उनी नियमित रूपमा घरेलु क्रिकेटमा सक्रिय रहँदै आएका छन्।
गौतमले डेभिड वार्नर टोलीमा रहँदा खेलाडीको मनोबल र उत्साह निकै राम्रो रहेको स्मरण गरे। अहिले पनि टोलीमा त्यही उत्साह कायम रहेको उनले बताए। आगामी खेलहरूमा जित निकाल्दै अंकतालिकाको शीर्ष दुई स्थानमा पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।
