काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेप्से लगातार चौथो दिन सकारात्मक बनेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से ४ अंकले बढेको थियो। सेन्सेटिभ इन्डेक्स २.३५ अंक, फ्लोट इन्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले बढेका छन्।
१३ मध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक १.७७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि सामान्य बढेको छ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार चार अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३५१ स्टकको चार अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
घलेम्दी हाइड्रो कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँ र कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सगरमाथा जलविद्युत् कम्पनीको सेयरमूल्य १२.४४ प्रतिशतले बढेको छ। अन्य स्टकको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन स्नो रिभर्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
