२८ असोज, उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो। तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतक चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।
