नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन्।
बुधबारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो। बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाको शुभारम्भ गरेका हुन्। मन्त्री तिमिल्सिनाले हुलाक सेवामार्फत सिमकार्डसमेत लिए।
सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए। उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा जोड दिए।
उनले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमता विस्तार गरिने पनि बताए।
*उनले भने, ‘हुलाकको आफ्नै क्षमता पनि छ, सीमितता पनि छ। आफ्नो क्षमताको अधिकतम उपयोग गरेर तपाईंहरूले योजना बनाएको समयभन्दा अगाडि पुर्याउन कोसिस गर्नुहोला। हामीले विस्तारै हुलाक सेवालाई थप प्रभावकारी पनि बनाउँदै छौँ। हुलाकको क्षमता विस्तार पनि गर्दै छौँ। भोलिका दिनमा एक–दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्न सक्ने गरी यसको क्षमता विकास गर्नुपर्छ।
सहरी क्षेत्रमा अझै छिटो गर्न सकिन्छ। सिम डेलिभरीको अभ्यासलाई पनि हेरेर सिम डेलिभरीमा कति समय लागिरहेको छ, यसबाट सेवाग्राही खुसी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर केही सुधार पनि गर्नुपर्छ होला। तर अहिलेका लागि यो एकदमै ठीक छ।
दुवै संस्थालाई यसको सुरुवात गरेकोमा धन्यवाद दिन चाहन्छु। यसबाट नेपाल टेलिकमले समेत सेवाग्राहीको खुसीको लाभ लिन सकोस् र हुलाक सेवालाई पनि थप प्रभावकारी बनाउन सहयोग पुगोस्। हामीले राज्यका सबै निकायलाई प्रभावकारी बनाउँदै लैजाने हो। नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा हामी सबै लाग्नुपर्छ।’*
सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पुर्याउन सहज हुने उनको विश्वास छ।
