२८ असोज, काठमाडौं । दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिताको उपाधि धनुषाको मैनावती फुटबल क्लबले जितेको छ। बुधबार सम्पन्न फाइनलमा लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ गोलअन्तरले हराउँदै मैनावतीले उपाधि आफ्नो पक्षमा पारेको हो।
च्याम्पियन बनेसँगै मैनावती फुटबल क्लबले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता लोकतान्त्रिक किरात सुनुवार संघ नेपालले २९ हजार ५५५ रुपैयाँ पाउँदा तेस्रो भएको साब्राली सुनुवार समाजले १५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ लोकतान्त्रिक किरात सुनुवार संघका भीम सुनुवार सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगिताभर सात गोल गरेका थिए। मैनावती फुटबल क्लबका अश्वित सुनुवारले उत्कृष्ट गोलरक्षकको पुरस्कार जित्दा सोही क्लबका गुण्डास सुनुवार उदयीमान खेलाडी घोषित भए।
‘राष्ट्रसेवामा सुनुवार राष्ट्रसेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक’ भन्ने मूल नारासहित सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ३२ टोली सहभागी भएका थिए।
आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारका अनुसार खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सुनुवार समुदायबीच आपसी सद्भाव, समन्वय, सहकार्य र साझेदारी बढाउँदै सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
