काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि पनि उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताएका छन्।
आइतबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा भौतिक पूर्वाधार निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारका लागि भारत र चीनले सहयोग गर्न इच्छा व्यक्त गरे पनि सरकारले सहयोग लिन हिच्किचाएको भण्डारीको आरोप छ। उद्धार तथा राहत वितरणमा समेत सरकारी संयन्त्र प्रभावकारी बन्न नसकेको उनले बताए।
मुलुक राष्ट्रिय संकटको अवस्थामा रहेकाले सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै भण्डारीले संघीय सरकारले उद्धार तथा राहत कार्यलाई थप तीव्रता दिनुपर्ने बताए।
विपद्का समयमा नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले राहत वितरणको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने उनको भनाइ छ। स्थानीय तहलाई आवश्यक स्रोत र अधिकार दिएर राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउनुपर्ने उनले बताए।
भण्डारीले विगतका विपद्का अनुभवबाट सिक्दै आगामी दिनमा विपद् प्रतिकार्यका लागि आवश्यक स्रोत, जनशक्ति र पूर्वाधारको तयारी गर्नुपर्नेमा समेत जोड दिए।
