काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद्मा परेका नागरिकको तथ्यांक संकलन तथा आवश्यक सहयोगका लागि विपद् व्यवस्थापन हेल्प डेस्क र विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ।
आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले हेल्प डेस्क तथा सूचना केन्द्रको शुभारम्भ गरेकी हुन्। उनले विपद्का बेला प्राप्त हुने सहयोगलाई वास्तविक प्रभावितसम्म पुर्याउन हेल्प डेस्कले समन्वयकारी भूमिका निर्वाह गर्ने बताइन्।
महानगरले सहयोगलाई नगद, जिन्सी र सेवाका रूपमा तीन वर्गमा विभाजन गरेको छ। नगद सहयोगलाई प्रधानमन्त्री राष्ट्रिय विपद् उद्धार तथा राहत कोषसँग जोडिनेछ भने जिन्सी सामग्री प्रभावित क्षेत्रको वास्तविक आवश्यकताका आधारमा संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी पठाइने महानगरले जनाएको छ। सेवा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई पनि आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा परिचालन गरिनेछ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार महानगरले विपद्को सुरुवाती चरणदेखि नै उद्धार तथा राहतका विभिन्न काम गर्दै आएको छ। बाढी प्रभावितको उद्धारका लागि सातवटा एम्बुलेन्स परिचालन गरिएकोमा पाँचवटा फिल्डमा र दुईवटा विमानमार्फत ल्याइएका गम्भीर बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिएको उनले जानकारी दिइन्।
बाढी प्रभावितलाई काठमाडौं ल्याउन यातायातको माग बढेपछि महानगरले निःशुल्क यातायात सेवा पनि सुरु गरेको छ। हालसम्म नुवाकोटबाट ८० जनालाई उद्धार गरी काठमाडौं ल्याइएको डंगोलले बताइन्। शव व्यवस्थापनका लागि चारवटा शववाहन फिल्डमा परिचालन गरिएको तथा उद्धार र राहतका लागि महानगरको स्काउट टोलीसमेत खटाइएको उनले जानकारी दिइन्।
हेल्प डेस्कमार्फत महानगरका ३२ वटै वडाबाट विपद्बाट प्रभावित तथा पीडित नागरिकको विवरण संकलन गरी अभिलेख राखिनेछ। संकलित तथ्यांकका आधारमा आगामी दिनमा आवश्यक राहत, पुनःस्थापना तथा अन्य सहयोगका कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।
डंगोलले विपद्का बेला सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थामा कहाँ र कसरी सहयोग गर्ने भन्ने अन्योल देखिएकाले हेल्प डेस्कमार्फत उनीहरूलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रसँग जोडिने बताइन्।
महानगरका विपद् व्यवस्थापन विषयगत समिति संयोजक प्रेम थापाले पनि रसुवा बाढीबाट प्रभावित नागरिकलाई महानगरले आवश्यक सहयोग गरिरहेको बताए। बाढीका कारण अलपत्र परेका नागरिकलाई काठमाडौं ल्याएर राहत तथा बसोबासको व्यवस्था गरिएको उनले जानकारी दिए।
थापाका अनुसार काठमाडौंको पहेँलो गुम्बामा करिब ३०० जना बाढीपीडितका लागि खाना तथा बसोबासको व्यवस्था गरिएको छ। महानगरले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी सहयोगसमेत जम्मा गरेको उनले बताए।
महानगरका अनुसार हेल्प डेस्कले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी सहयोगी व्यक्ति तथा संघसंस्थासँग समन्वय गर्नेछ भने सूचना केन्द्रले प्रभावितको तथ्यांक संकलन, अभिलेखीकरण तथा विश्लेषण गर्नेछ।
