स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन्।
धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै उनले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको जानकारी दिएकी छन्। स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको उनले बताएकी छन्। ट्रमा सेन्टर निर्माणको शिलान्यास पनि छिट्टै गरिने उनको भनाइ छ।
सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने र उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो।
उनले भनिन्, ‘हाम्रो टेन्डर नै परिसकेको छ। स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर फाइल पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ। आयोजना बहुवर्षीय भएकाले अब निर्माण सम्पन्न गर्ने प्रक्रियातर्फ अघि बढिरहेको छ। शिलान्यासको ठ्याक्कै मिति अहिले भन्न गाह्रो हुन्छ। तर, छिट्टै शिलान्यास हुन्छ। ट्रमा सेन्टर यहीँ बन्छ।’
मन्त्री मेहताले आइतबार धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गरेकी हुन्। ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो।
मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गा प्राप्तिसमेत भइसकेको छ। स्थानीयवासीले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन्।
