विराटनगर । मोरङको विराटनगरमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता सुनसरी र मोरङको सीमाक्षेत्रमा पर्ने केशलिया खोलानजिक मृत अवस्थामा फेला परेका छन्।
विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने पुलनजिकै उनको शव फेला परेको हो। भारतीय नागरिक रहेको बताइएका गुप्ताले विराटनगरको महावीर रोडमा विगत करिब ३० वर्षदेखि ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए।
आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरतर्फ खोलाको किनारमा बोराभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार मृतक गुप्ता विराटनगर–६ मा ब्याट्री मर्मतसम्बन्धी व्यवसाय गर्दै आएका थिए।
घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या गरेर शव फालिएको हुन सक्ने आशंका गरिएको खड्काले बताए। बोराले बेरिएको अवस्थामा शव भेटिएकाले घटना शंकास्पद देखिएको र विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको उनले बताएका छन्।
प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरेर आवश्यक प्रमाण संकलन गरेको जनाएको छ। घटनामा संलग्न हुन सक्ने व्यक्तिको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।
