दसैँमा कर्णालीका सडकमा ६५ दुर्घटना, ६ जनाको ज्यान गयो
सुर्खेत । दसैँ अवधिमा कर्णाली प्रदेशमा भएका ६५ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार घटस्थापना अर्थात् असोज २५ गतेदेखि दसैँ अवधिभर यी दुर्घटना भएका हुन्।
जिल्लागत विवरणअनुसार सुर्खेतमा सबैभन्दा बढी ३१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ६४ जना घाइते भएका छन्। रुकुम पश्चिममा १४ वटा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
त्यस्तै, जाजरकोटमा भएका ६ वटा दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जुम्ला र हुम्लामा एक–एक वटा दुर्घटना हुँदा दुवै जिल्लामा एक–एक जनाको ज्यान गएको छ।
सल्यानमा ६ वटा दुर्घटनामा १३ जना र दैलेखमा पाँच वटा दुर्घटनामा नौ जना घाइते भएका छन्। डोल्पामा भएको एउटा दुर्घटनामा एक जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार यस अवधिमा कालिकोट र मुगुमा सवारी दुर्घटना भएका छैनन्।
गत वर्षभन्दा मानवीय क्षति कम
गत वर्षको दसैँ अवधिको तुलनामा यस वर्ष सवारी दुर्घटनामा हुने मानवीय क्षति घटेको छ। गत वर्ष दसैँका बेला ७ जनाको मृत्यु भएको थियो भने १५५ जना घाइते भएका थिए। यस वर्ष मृतकको संख्या एक जनाले र घाइतेको संख्या ५१ जनाले कम भएको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३३८ सवारी कारबाहीमा
दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३३८ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा २४६ जना कारबाहीमा परेका छन्।
