कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व अब वरिष्ठ उपसभापति शर्मालाई
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था गरिएको छ। पार्टीको १५औँ महाधिवेशनबाट विधान संशोधनको प्रस्ताव पारित भएसँगै नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रतिष्ठानको नेतृत्व गर्ने बाटो खुलेको हो।
यसअघि प्रतिष्ठानको संयोजक उपसभापतिमध्येबाट सभापतिले तोक्ने व्यवस्था थियो। संशोधित व्यवस्थाअनुसार अब प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिको जिम्मेवारीमा रहनेछ।
कांग्रेसमा वरिष्ठ उपसभापतिको पद पहिलोपटक व्यवस्था गरिएको हो। उक्त पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले वरिष्ठ उपसभापतिको नेतृत्वमा प्रतिष्ठान राख्ने प्रस्ताव अघि सारेको थियो। महाधिवेशनले उक्त प्रस्ताव पारित गरेको हो।
यद्यपि, संशोधित विधानको अन्तिम दस्तावेज तयार भइसकेको छैन। विधान मस्यौदा समितिका सदस्य तथा पूर्वसहमहामन्त्री जीवन परियारले प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था समितिबाट पारित भएको जानकारी दिए। विधानको अन्तिम रूप आउन भने बाँकी रहेको उनले बताए।
नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले पनि प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिलाई दिने विषय पारित भएको बताए। उनले विधान तयार भएपछि यसको औपचारिक व्यवस्था स्पष्ट हुने जानकारी दिए।
यसअघि पार्टी सभापतिले आफूले चाहेको उपसभापतिलाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी दिने अभ्यास थियो। विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापाले तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई प्रतिष्ठानको नेतृत्व दिएका थिए।
त्यस्तै, कांग्रेसको १४औँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको संयोजक बनाएका थिए।
संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिलाई प्रतिष्ठानको नेतृत्वसँगै केन्द्रीय कार्यालय सञ्चालनको समन्वय गर्ने तथा सभापति अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने जिम्मेवारीसमेत दिने व्यवस्था गरिएको छ। यसले पार्टीभित्र वरिष्ठ उपसभापतिको भूमिका थप महत्त्वपूर्ण बनाउने देखिएको छ।
