९ कात्तिक, धनगढी। बझाङमा चरेसजस्तो देखिने पाँच किलोभन्दा बढी पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ का ३० वर्षीय कटक जप्रेल रहेका छन्।
प्रहरीका अनुसार बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजार नजिक जयपृथ्वी राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
आइतबार साँझ करिब ५ः३० बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्दा पछाडिको डिक्कीमा रहेको कालो झोलाभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल पाँच किलो ४५० ग्राम रहेको छ भने शुद्ध तौल पाँच किलो १९५ ग्राम छ।
पक्राउ परेका जप्रेललाई अस्थायी प्रहरी पोस्ट बागथलामा राखिएको छ। बरामद पदार्थको पहिचान तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
