प्रहरीका अनुसार साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर त्यसको चार दिनपछि गोलबजारमा तोडफोड तथा आगजनी भएको थियो। उक्त घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अनवर विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको जनाएको छ। उनी कहिले ससुरालीतर्फ त कहिले अन्य ठाउँमा बस्ने गरेको र घर आए पनि प्रहरीबाट जोगिन लुक्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ मा धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पुर्याउने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
