काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको प्रभावका कारण नेपालमा बुधबार रातिदेखि मौसम बदली भई वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ भने शुक्रबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
दसैँ मनाएर राजधानी फर्किने क्रम जारी रहेका बेला र धान काट्ने तथा भित्र्याउने चटारो बढिरहेका बेला वर्षाको सम्भावना देखिएको हो। यसले किसानको कृषि कार्यमा असर पार्न सक्ने भएकाले मौसमको अवस्था बुझेर काम गर्नुपर्ने देखिन्छ। यता, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा पनि मौसमको प्रभाव पर्न सक्ने विषयमा चासो बढेको छ। यद्यपि, खेल प्रभावित हुने वा नहुनेबारे अहिले नै निश्चित भइसकेको छैन।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा विकसित प्रणाली क्रमशः शक्तिशाली बन्दै अघि बढिरहेको छ। यो भारतको आन्ध्र प्रदेशनजिक आइपुग्दा नेपालमा पनि यसको प्रभाव देखिन सक्ने उनले बताए।
उनका अनुसार बुधबार रातिदेखि हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्छ। बिहीबारदेखि भने अन्य भूभागमा समेत वर्षाको सम्भावना छ। यस प्रणालीको प्रभाव पूर्वी नेपालमा बढी देखिने र पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी पश्चिमी लुम्बिनी, पश्चिमी तराई र सुदूरपश्चिममा अन्य क्षेत्रको तुलनामा कम वर्षा हुन सक्ने मौसमविद् लामिछानेले बताए।
महाशाखाले सोमबार सार्वजनिक गरेको पाँचदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारदेखि मौसममा परिवर्तन आउनेछ। बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।
बुधबार राति देशभर सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ। त्यसैगरी कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार भने वर्षाको क्षेत्र थप विस्तार हुन सक्ने महाशाखाको पूर्वानुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा वा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
काठमाडौँ उपत्यकामा बुधबार बादल लाग्ने र बिहीबार केही समय वर्षा हुन सक्ने मौसमविद् लामिछानेले बताए। शुक्रबारसम्म मौसम बदली भइरहने सम्भावना रहे पनि शनिबार रातिदेखि मौसम क्रमशः खुल्दै जाने र चक्रवातको प्रभाव कमजोर हुने अनुमान गरिएको छ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै किसानले खेतमा काटेर राखेको धान सुरक्षित राख्न र मौसमको पछिल्लो अवस्थाअनुसार धान सुकाउने तथा भित्र्याउने कामको योजना बनाउनुपर्ने देखिन्छ।
महाशाखाले बिहीबारदेखि शनिबारसम्मको मौसमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने तथा कृषि, सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।
