‘मन्त्री जनतालाई भेट्न जानुपर्छ’ : भूमि व्यवस्थामन्त्री प्रतिभा रावल
भरतपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारका कामबारे जानकारी दिन र नागरिकका समस्या बुझ्न मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताइन्। सरकारका योजना र कार्यप्रगतिबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउन आफू आएको उनको भनाइ थियो।
मन्त्री रावलका अनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको छ। लामो समयदेखि बचत फिर्ता नपाएर समस्यामा परेका नागरिकलाई राहत दिन उक्त कामलाई थप तीव्रता दिनुपर्ने उनले बताइन्। बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई आवश्यक दबाब दिनुपर्नेमा पनि उनले जोड दिइन्।
सरकारले जनताको हितमा गरिरहेका काम र आगामी योजनाबारे नागरिकलाई स्पष्ट जानकारी दिन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री रावलले जनताका गुनासा प्रत्यक्ष सुन्ने प्रयास भइरहेको बताइन्।
भूमिहीन नागरिकलाई आफू बस्दै आएको स्थानबाट हटाइने हो कि भन्ने चिन्ता हटाउनुपर्नेमा जोड दिँदै उनले सरकारले समस्या समाधानका लागि काम गरिरहेको स्पष्ट पारिन्। उनका अनुसार जग्गा उपलब्ध गराउने प्रक्रियामा रहेका कानुनी जटिलता समाधान गर्न नीतिगत सुधार अघि बढाइएको छ।
लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई सम्बन्धित स्थानकै जग्गाको स्वामित्व उपलब्ध गराउने विषयमा देखिएका कानुनी अवरोध हटाएर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने सरकारको योजना रहेको उनले बताइन्।
मन्त्री रावलले नीतिगत सुधारका काम अघि बढिसकेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने थप समस्या पनि समाधान गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
