श्रीलंकासँग हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलामा सहभागी हुन पाकिस्तान क्रिकेट टोलीले उनलाई बोलाएको कर्णाली याक्सले जानकारी दिएको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सम्पन्न भएपछि पुनः एनपीएलमा फर्किन सक्ने सम्भावना छ । उनको अनुपस्थितिमा टोलीमा केही समयका लागि वैकल्पिक खेलाडी भित्र्याउने तयारी भइरहेको उनले बताएका छन् ।
घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीहरूले आवश्यक एनओसी प्राप्त गरेर नेपाल आइसकेपछि पुनः अतिरिक्त रकम मागिनु उचित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
पाकिस्तानी खेलाडीलाई एनपीएलमा सहभागी गराउनुको उद्देश्य उनीहरूको खेल प्रदर्शनबाट नेपाली दर्शकलाई परिचित गराउनुका साथै नेपालको क्रिकेट विकासमा योगदान पुर्याउनु पनि रहेको घिमिरेले बताएका छन् । नेपाली क्रिकेट विकासको क्रममा रहेको अवस्थामा प्रतियोगिता नजिकिँदै गर्दा थप आर्थिक भारको माग आउनुले आफूहरू निराश भएको उनले बताए ।
उनका अनुसार अतिरिक्त रकम भुक्तानी गरेर भए पनि पाकिस्तानी खेलाडीलाई प्रतियोगितामा निरन्तरता दिने विषयमा कर्णाली याक्सभित्र छलफल भइरहेको थियो । तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने अवस्था आएको हो । अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुनः कर्णाली याक्समा जोडिने अपेक्षा गरिएको घिमिरेले बताएका छन् ।
यस घटनालाई पाकिस्तानसँगको सम्बन्धमा नकारात्मक असर पार्ने विषयका रूपमा नलिनुपर्ने धारणा पनि घिमिरेले राखेका छन् । आगामी दिनमा समेत पाकिस्तानी खेलाडीको आवश्यकता पर्न सक्ने भएकाले दुवै पक्षबीचको सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनले बताए ।
कर्णाली याक्सले साहिबजादा फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा समावेश गरेको छ । फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका लागि पाकिस्तान फर्किने भएपछि उनको अनुपस्थितिमा खेल्ने अर्को विदेशी खेलाडी ल्याउने तयारी कर्णालीले अघि बढाएको छ ।
घिमिरेका अनुसार विदेशी खेलाडीलाई एनपीएलमा सहभागी गराउनु नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर उकास्ने र प्रतियोगिताप्रति दर्शकको आकर्षण बढाउने योजनाकै एउटा हिस्सा हो । प्रतियोगिता सुरु हुने समयमै यस्तो समस्या देखिनुले टोलीलाई निराश बनाएको उनले बताएका छन् ।
