मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएकाले बिहीबार मध्याह्नदेखि नेपालमा पानी पर्न थाल्नेछ। शक्तिशाली चक्रवातको नाम ‘अर्नब’ राखिएको उनले बताए।
भारतीय मौसम विभागले सोमबार बिहान ५:३० बजे चक्रवातको रूपमा देखिएको पुष्टि गरेको उनले बताए।
‘अब यो प्रणालीले भोलि मंगलबार मध्याह्नतिर भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा धावा बोल्ने देखिन्छ। र, त्यस क्षेत्रमा अवस्थित अन्य साना वर्षा प्रणालीसँग मिसिँदै उत्तरतर्फ अर्थात् नेपालतर्फ बढ्ने देखिन्छ। बुधबार रातिसम्म नेपाल आइपुग्ने र बिहीबारदेखि वर्षा हुने कुरा नेपाल मौसम विज्ञान विभाग तथा जलवायु शाखाले पनि सूचित गरिसकेको छ,’ उनले बताएका छन्।
देशैभरि वर्षा हुने देखिए पनि बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनीमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
चक्रवातको शक्ति र ऊर्जा हेर्दा केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा व्यापक हिमपात हुने उनले बताए।
