कांग्रेसको जनविश्वास कायम राख्न छवि सुधारमा जुटेका छौँ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीप्रतिको जनविश्वासलाई कायम राख्दै संगठनको छवि सुधार गर्न आफूहरू सक्रिय रहेको बताएका छन्।
नेपाली कांग्रेस म्याग्दे गाउँकार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जनतामा कांग्रेसप्रति अझै पनि माया र भरोसा रहेको उल्लेख गरे। जनताको विश्वासलाई व्यवहारबाटै बलियो बनाउन पार्टीले आफ्नो कार्यशैली र भूमिकामा सुधार ल्याउनुपर्ने उनको भनाइ थियो।
महामन्त्री पौडेलले पार्टीका आन्तरिक विषयमा मात्रै केन्द्रित नभई राष्ट्रिय जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। पार्टीलाई एकताबद्ध बनाउँदै लोकतन्त्रको संरक्षण र देशप्रतिको दायित्व पूरा गर्न कांग्रेसले ध्यान दिनुपर्ने उनले बताए।
कांग्रेसले विगतदेखि नै लोकतान्त्रिक व्यवस्थाको पक्षमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पौडेलले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले नागरिकले कानुनी शासनको अनुभूति गर्न सक्ने गरी सरकारले काम गर्नुपर्नेमा पनि जोड दिए।
#NepaliCongress #PradipPoudel #NepalPolitics #PoliticalNews #DreamNewsNetwork
