झापामा दाजुभाइबीच विवाद हुँदा दाजुद्वारा भाइलाई छुरा प्रहार
झापा । झापाको भद्रपुरमा सामान्य विवादले उग्र रूप लिँदा दाजुको छुरा प्रहारबाट भाइ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा विवाद भएपछि कुबराजले भाइलाई छुरा हानेका थिए। घटनामा बाबुलालको घाँटीमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ। छुरा प्रहार गरी फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
