प्रहरी स्टाफ कलेजको पाठ्यक्रममा सामान्य सुधारको प्रस्ताव, पुस पहिलो सातादेखि प्रवेश परीक्षा
काठमाडौँ । नेपाल प्रहरीको स्टाफ कलेजसम्बन्धी पाठ्यक्रम र सञ्चालन प्रक्रियाबारे पुनरावलोकन गर्न गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बुझाएको छ। समितिले कलेजको अवधारणामा सामान्य परिमार्जन गर्न र यस वर्ष २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतलाई मात्र प्रवेश परीक्षामा सहभागी गराउन सुझाव दिएको छ।
प्रहरी प्रधान कार्यालयले डीआईजी विश्व अधिकारीको नेतृत्वमा गत भदौ १७ गते समिति गठन गरेको थियो। स्टाफ कलेजको पाठ्यक्रम, प्रवेश परीक्षा र समग्र अवधारणामा आवश्यक सुधार पहिचान गर्ने जिम्मेवारी पाएको समितिले केही दिनअघि प्रतिवेदन बुझाएको हो। समितिमा एसएसपी सोमेन्द्र सिंह राठौर, एसपी गजुसिद्धी बज्राचार्य र डीएसपी सुन्दर तिवारीसहित सात जना सदस्य थिए।
प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख २१ गतेदेखि स्टाफ कलेजअन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपीएस) र प्रोफेसनल लिडरसिप कोर्स सञ्चालनमा ल्याएको थियो। तर, प्रवेश परीक्षामा धेरै अधिकृत उत्तीर्ण हुन नसकेपछि पाठ्यक्रम र परीक्षा प्रणालीबारे प्रहरी संगठनभित्र प्रश्न उठ्दै आएको थियो।
समितिको सुझावअनुसार यस वर्ष २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १५८औँ समूहका अधिकृतले मात्रै प्रवेश परीक्षा दिन पाउनेछन्। उनीहरूले यसअघि दुई पटक परीक्षा दिइसकेका छन्। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले प्रवेश परीक्षा पुसको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
यसअघि तेस्रो ब्याचका लागि मंसिर १८ गतेदेखि परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर, विपद्का कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो।
प्रवेश परीक्षामा चारवटा विषयबाट प्रत्येकमा ५० अङ्कका दरले कुल २०० अङ्कको परीक्षा हुने व्यवस्था छ। यसबाहेक सिम्याटमा ४० अङ्क प्राप्त गर्नुपर्ने प्रावधान छ। अध्ययन समितिले परीक्षामा उत्तीर्ण हुन आवश्यक अङ्कभारमा समेत परिमार्जन गर्न सुझाव दिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका छन्।
यसअघि पहिलो ब्याचको प्रवेश परीक्षामा १३१ जना र दोस्रो ब्याचमा ८९ जना अधिकृत प्रतिस्पर्धामा सहभागी भएका थिए। तर, स्टाफ कलेजको पहिलो ब्याचमा १७ जना र दोस्रो ब्याचमा १५ जना मात्रै कोर्स पूरा गर्न सफल भएका छन्।
प्रत्येक शैक्षिक सत्रमा ३५ जना अधिकृतलाई प्रशिक्षण दिने लक्ष्य राखिए पनि अपेक्षित सङ्ख्यामा अधिकृत उत्तीर्ण हुन नसकेपछि सुधारको आवश्यकता देखिएको प्रहरी प्रवक्ता काफ्लेले बताएका छन्।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भइरहेको स्टाफ कलेजको कोर्स १६ महिनाको हुन्छ। प्रहरी संगठनमा उच्च नेतृत्व तहसम्म पुग्न यस कोर्सलाई महत्त्वपूर्ण मानिएको छ। १५८औँ समूह र त्यसपछिका समूहका अधिकृतका लागि स्टाफ कलेजको अध्ययन बढुवासँग समेत जोडिएकाले यसको परीक्षा प्रणाली र पाठ्यक्रमलाई प्रभावकारी बनाउने विषयलाई महत्त्वका साथ हेरिएको छ।
