नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम सुरु गरिएको हो। भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा भारतका विभिन्न सहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी भएका छन्। उनीहरूलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रमसहित स्वागत गरिएको थियो।
भारतीय व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउने र सुनौली हुँदै लुम्बिनी क्षेत्र, रामग्राम स्तूप, अमलटारी तथा चितवनको सौराहालगायतका गन्तव्यमा भ्रमण गराउने कार्यक्रम छ।
आयोजक संस्था गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रबारे फैलिएको नकारात्मक सन्देश चिर्न कार्यक्रम आयोजना गरिएको बताए। भोटेकोशी विपद्पछि नेपाल असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उनको भनाइ छ।
नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोका कारण क्षति पुगे पनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएकाले त्यसलाई चिर्न पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको उनले बताए। उनका अनुसार केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा छन्। नेपाल भ्रमणका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कार्यक्रमले सहयोग गर्ने उनले बताए।
सापकोटाले भोटेकोशीमा आएको बाढीपछि विभिन्न देशबाट नेपाल आउने पर्यटकले आफ्नो भ्रमण रद्द गर्न थालेकाले पर्यटकको संख्या घटेको बताए। एनआरएनए र समृद्ध चितवनको संयुक्त पहलमा विशेषगरी भारतीय पर्यटकको आगमन बढाउन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने गरेको उल्लेख गर्दै उनले गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको बताए। यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपालले अपेक्षाअनुसार भारतीय पर्यटक आकर्षित गर्न नसकेको उनको भनाइ छ।
नेपाल सुरक्षित र घुम्नका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्व बजारमा पुर्याउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए। बाढीपहिरोले नेपालका केही जिल्लामा मात्रै क्षति पुर्याएको भए पनि देशभरि नै बाढी आएको जस्तो सन्देश फैलिएको उनले उल्लेख गरे।
केही स्थानमा सडक र पुलमा क्षति पुगे पनि अधिकांश पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सकिने अवस्था रहेको उनले बताए। केही ट्रेकिङ मार्गबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको सन्देश भारतीय पर्यटन व्यवसायीमार्फत फैलाउन खोजिएको उनको भनाइ छ।
कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटलको प्रवर्द्धन गरिने उनले जानकारी दिए। भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि पर्यटन व्यवसायीबीच छलफल गरिनेछ।
सापकोटाका अनुसार गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए। भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने भए पनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न सकेको छैन।
कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ। नेपाललाई सुरक्षित र पर्यटक स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले सहयोग पुर्याउने आयोजकको अपेक्षा छ।
कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटालगायतका संस्थाले सहयोग गरेका छन्।
