मधेश प्रदेशमा सरकार गठनका लागि राजनीतिक दलहरू नयाँ सत्ता समीकरण बनाउने प्रयासमा जुटेका छन्। जसपा नेपाल र नेकपा एमालेबीच सरकार गठनका विषयमा छलफल भइरहेको छ। मुख्यमन्त्री यादव भने आफ्नो सरकार जोगाउने प्रयासमा छन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा २७ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। नेकपा एमाले २३ सिटसहित दोस्रो स्थानमा छ। नेपाली कांग्रेसका २२ र नेकपाका १५ सांसद छन्। यस्तै, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक–एक सांसद छन्।
मुख्यमन्त्री यादव सरकार टिकाउने प्रयासमा रहँदा एमाले र प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालबीच नयाँ सरकार गठनबारे संवाद भइरहेको हो। तीन दलबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
एमालेले ठूलो दलको हैसियतमा जसपा नेपाललाई सरकार गठनका लागि समर्थन गर्ने विषय सार्वजनिक भइसकेको छ। तर, एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफैँ मुख्यमन्त्री बन्ने प्रयासमा रहेको स्रोतले जनाएको छ।
यसअघि संविधानको धारा १६८ को उपधारा (३) अनुसार दोस्रो ठूलो दल एमालेका संसदीय दलका नेता सरोजकुमार यादव २०८२ कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले त्यसको भोलिपल्ट बिहान बर्दिबासको कालापानीस्थित पानस कटेजमा शपथ लिएका थिए।
उक्त नियुक्तिलाई लिएर त्यतिबेला विवाद उत्पन्न भएको थियो। एमालेको कोटाबाट प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डलको दुरुपयोग गरिएको भन्दै एमालेको आलोचना भएको थियो। एमाले, राप्रपा र संघीय समाजवादी पार्टीबाहेकका दलहरू एकजुट भएर सडकमा विरोध प्रदर्शन गरेका थिए। मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो।
