१० कात्तिक, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका तर सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र उपस्थित हुन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमतिमा विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको हो ।
विभागका अनुसार तोकिएको समयभित्र उपस्थित नभएमा सम्बन्धित व्यक्तिहरूमाथि वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइनेछ ।
त्यसैगरी, कानुनी प्रक्रियामा उपस्थित नभएका व्यक्तिहरूको बैंक खातामा हुने कारोबार रोक्का गर्ने, यात्रा अनुमति रोक्ने तथा अन्य आवश्यक कानुनी प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले विभागले यस्तो सूचना जारी गरेको हो ।
