काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने १ हजार २०६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ९ गतेसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जना कारबाहीमा परेका हुन् ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले मापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक रहेको जानकारी दिए ।
त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले बताए ।
मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख काफ्लेले उल्लेख गरे ।
यस्तो अवस्थामा सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले मापसे तथा लापसे नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।
