सोमबार सार्वजनिक गरिएको यो कार्यक्रमअन्तर्गत क्यानडा, भारत, बेलायत र अमेरिकामा कार्यरत योग्य कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्नेछन् ।
माइक्रोसफ्टकी प्रमुख जनशक्ति अधिकारी एमी कोलम्यानले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा कम्पनी छाडेर नयाँ अवसर खोज्न चाहने योग्य कर्मचारीलाई सहयोगसहित बाहिरिने विकल्प उपलब्ध गराउन कार्यक्रम ल्याइएको उल्लेख गरेकी छन् ।
समाचार संस्था रोयटर्सका अनुसार कम्पनीका एक चौथाइभन्दा बढी कर्मचारीले यस योजनाअन्तर्गत स्वेच्छिक अवकाश रोज्न सक्ने अनुमान गरिएको छ ।
रोयटर्ससँग कुरा गरेका स्रोतका अनुसार विन्डोज, कोपाइलट, एआई एक्सपेरियन्स, वित्त, मानव संसाधन, एक्सबक्स तथा विन्डोज प्लस डिभाइससम्बन्धी विभागका कर्मचारी यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । तर, मार्केटिङ, कमर्सियल बिजनेस र सुरक्षा क्षेत्रका कर्मचारीलाई भने योजनामा समावेश नगरिने जनाइएको छ ।
एआईमा ठूलो लगानी, खर्च घटाउने चुनौती
माइक्रोसफ्टले एआई पूर्वाधार विस्तारका लागि डेटा सेन्टर र चिप प्रविधिमा अर्बौं डलर खर्च गरिरहेको छ । प्रविधिमा बढ्दो लगानीसँगै कम्पनीको पुँजीगत खर्च पनि बढिरहेको छ । यसले लगानीबाट भविष्यमा कति प्रतिफल प्राप्त हुन्छ भन्ने विषयमा लगानीकर्तामाझ चासो बढाएको छ ।
कम्पनीले सन् २०२६ को क्यालेन्डर वर्षमा पुँजीगत खर्चका लागि १७५ अर्ब अमेरिकी डलर विनियोजन गर्ने प्रक्षेपण गरेको छ । एआईसम्बन्धी पूर्वाधार विस्तारमा खर्च बढिरहेका बेला सञ्चालन लागत नियन्त्रण गर्नु कम्पनीका लागि महत्त्वपूर्ण चुनौती बनेको छ ।
माइक्रोसफ्टको वार्षिक प्रतिवेदनअनुसार सन् २०२६ जुन ३० सम्म कम्पनीमा विश्वभर २ लाख २३ हजार पूर्णकालीन कर्मचारी कार्यरत थिए । यस आधारमा प्रस्तावित ६० हजार कर्मचारीको संख्या कम्पनीको कुल कार्यबलको करिब २७ प्रतिशत बराबर हुन्छ ।
यसअघि पनि कर्मचारी कटौती र पुनर्संरचना
माइक्रोसफ्टले यसअघि पनि कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिएको थियो । चालु वर्षको सुरुवातमा कम्पनीले अमेरिकामा कार्यरत करिब ९ हजार कर्मचारीलाई यस्तो प्रस्ताव गरेको थियो । यो अमेरिकामा रहेको कम्पनीको कुल कार्यबलको झन्डै ७ प्रतिशत थियो ।
त्यस्तै, गत जुलाईमा कम्पनीले आफ्नो एक्सबक्स गेमिङ व्यवसाय पुनर्संरचना गर्ने क्रममा विश्वभर करिब ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । त्यसबेला गेमिङ व्यवसायबाट प्रतिफल बढाउने उद्देश्यले पाँच वटासम्म स्टुडियोबाट अलग हुने योजना पनि सार्वजनिक गरिएको थियो ।
यसैबीच, माइक्रोसफ्टले पहिलो त्रैमासिकको वित्तीय नतिजा बुधबार बजार बन्द भएपछि सार्वजनिक गर्ने तयारी गरेको छ । रोयटर्सका अनुसार कम्पनीको सेयर मूल्य यस वर्ष करिब १० प्रतिशतले बढेको थियो भने सोमबारको कारोबारमा थप करिब १ प्रतिशत वृद्धि भएको थियो ।
