साउदीमा रहेका नेपालीलाई राजदूतावासको अपिल : सतर्क रहन र अनावश्यक बाहिर ननिस्कन आग्रह
काठमाडौं । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा निकायका निर्देशन पालना गर्न अपिल गरेको हो।
दूतावासले जारी गरेको सूचनामा सुरक्षा चेतावनी जारी भएका क्षेत्र र समयमा विशेष सावधानी अपनाउन भनिएको छ। साथै, सामाजिक सञ्जालमा अपुष्ट सूचना, भ्रामक तस्बिर तथा भिडियो पोस्ट वा सेयर नगर्न पनि नेपाली नागरिकलाई अनुरोध गरिएको छ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई आफ्नो उडानको अवस्था र समयतालिका सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रामा निस्कन दूतावासले सुझाव दिएको छ।
कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
साउदी अरेबियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। त्यहाँ रहेका नेपालीको सुरक्षा र सहजताका लागि आधिकारिक सूचनामा ध्यान दिन, अफवाहबाट बच्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आवश्यक देखिएको छ।

