१० कात्तिक, स्याङ्जा । बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङ सात वर्षपछि पक्राउ परेका छन्।
प्रहरीले उनलाई पक्राउ गरी अदालतको आदेशअनुसार बाँकी कैद भुक्तान गराउन र जरिबाना असुल गर्न कारागार पठाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गुरुङलाई कात्तिक ७ गते फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई कात्तिक ९ गते आवश्यक कानुनी कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशपछि उनलाई कैद भुक्तान र जरिबाना असुलीका लागि जिल्ला कारागार कार्यालय स्याङ्जा पठाइएको अवस्थीले जानकारी दिए।
स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते बहुविवाह मुद्दामा गुरुङलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन परे पनि उच्च अदालत पोखराले २०७६ मंसिर ९ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो।
अदालतको अभिलेखअनुसार मुद्दाको अनुसन्धानका क्रममा गुरुङ २०७५ साउन ६ देखि २६ गतेसम्म प्रहरी हिरासतमा बसेका थिए। हिरासतमा बिताएको समय कैद अवधिबाट कट्टा गर्दा उनले अब ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी छ। साथै, अदालतले तोकेको पाँच हजार रुपैयाँ जरिबानासमेत असुल गर्नुपर्नेछ।
