१० कात्तिक, दाङ । दाङको देउखुरीस्थित लमही नगरपालिका–३ को नारायणीश्वर सामुदायिक वनमा चराउन लगिएका ६ वटा बाख्रा मृत अवस्थामा फेला परेका छन्। बाख्राधनीले चितुवाको आक्रमणबाट बाख्रा मरेको बताएका छन्।
लमही नगरपालिका–३ नारायणपुरका रघुवीर खत्रीले आज बिहान सामुदायिक वनमा नौवटा बाख्रा चराउन लगेका थिए। केही समयपछि खोजी गर्दा तीमध्ये छवटा बाख्रा मृत अवस्थामा फेला परेको र बाँकी तीनवटा अझै नभेटिएको खत्रीले बताए।
यस घटनापछि देउखुरी क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
कार्यालयले आवश्यक सावधानीबिना वन क्षेत्रमा प्रवेश नगर्न तथा पशुचौपाया चराउन अनावश्यक रूपमा वनभित्र नलैजान पनि अनुरोध गरेको छ।
