१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्।
निजामती सेवाबाट केही महिनाअघि अनिवार्य अवकाश लिएका घिमिरेले प्रतिष्ठानको कार्यकारी नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। उनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट नियुक्तिपत्रसमेत बुझिसकेका छन्।
यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशक मन्त्रिपरिषद्बाट सीधै नियुक्त गर्ने अभ्यास थियो। तर, यसपटक भने खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनोट गरिएको हो।
कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा परेका थिए।
संक्षिप्त सूचीमा परेका उम्मेदवारको अन्तर्वार्ता, प्रस्तुतीकरण तथा योग्यता परीक्षणलगायतका आधारमा घिमिरेलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।
