गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन्।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका छन्। उनले त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा जगाएको बताएका छन्।
उनले बाल्यकालमा रामचन्द्र पौडेललगायतका नेताहरू राति आफ्नो घरमा आउने गरेको स्मरण गरेका छन्। आफू १०–११ वर्षको हुँदा ती नेताहरू किन राति आउँथे, किन रातभरि घरमा बस्थे र किन उज्यालोमा खुलेर हिँड्न सक्दैनथे भन्ने कौतूहलता जागेको उनले बताएका छन्।
स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रतिको त्यही भावनाले आफूलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको उनले बताएका छन्। राजनीतिक आन्दोलनका क्रममा नेताहरूले भोगेका दुःख, संघर्ष र त्यागलाई नयाँ पुस्ताले बुझ्नुपर्ने उनको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले भने, ‘म सानो छँदा, १०–११ वर्षको उमेरमा, रामचन्द्र दाइ लगायतका नेताहरू राति घरमा आउनुहुन्थ्यो र उज्यालो भएपछि मात्र निस्कनुहुन्थ्यो। उहाँहरू किन राति मात्र आउनुहुन्छ र दिउँसो खुलेर हिँड्न सक्नुहुन्न भन्ने कौतूहलता मलाई लाग्थ्यो। पछि बुझ्दै जाँदा उहाँहरूले खुलेर बोल्न, हिँड्न र आफ्ना विचार राख्न पाउने अवस्था रहेनछ भन्ने थाहा पाएँ। यही अनुभवले मलाई हरेक नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्छ भन्ने प्रेरणा दियो र म राजनीतिमा आएँ। यो पुस्तक पनि प्रेरणाको स्रोत बन्नेछ।
कांग्रेसमा धेरै साथीहरूले जेलनेल सहनुभयो, त्याग र तपस्या गर्नुभयो, तर कुनै राजकीय पद प्राप्त गर्नुभएन। त्यसैले हामीले पद र अवसर प्राप्त गरेका व्यक्तिहरूलाई मात्र होइन, लामो समयदेखि पार्टीमा योगदान दिँदै आउनुभएका तर अवसर नपाएका साथीहरूलाई पनि सम्झनुपर्छ। उहाँहरूको योगदानको सम्मान गर्न सक्यौँ भने मात्र हामीले वास्तविक आत्मसन्तुष्टि प्राप्त गर्न सक्छौँ।’
पाण्डेले पार्टीका लागि जेलनेल भोगेका, लामो समय संघर्ष गरेका र निरन्तर योगदान दिएका कतिपय नेता तथा कार्यकर्ताले पद प्राप्त नगरे पनि उनीहरूको योगदान बिर्सन नहुने बताएका छन्।
