पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश तथा जिल्ला अधिवेशनको कार्यतालिका बनाइने बताएका छन्।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने जानकारी दिए। स्थानीय निर्वाचन नजिकिँदै गएकाले त्यसको तयारी र पार्टीका अधिवेशनबीच तालमेल मिलाएर मिति निर्धारण गरिने उनको भनाइ थियो।
थापाले प्रदेश र जिल्ला अधिवेशन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै केन्द्रीय समितिका सदस्यहरूसँग परामर्शपछि मिति तय गरिने बताए।
कांग्रेसको हालै सम्पन्न अधिवेशनबारे चर्चा गर्दै उनले ठूलो सङ्ख्यामा प्रतिनिधि सहभागी भएको अधिवेशन व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि सबैको सहयोगमा कार्यक्रम सफल भएको दाबी गरे।
उनले अधिवेशनबाट नेतृत्व चयन हुनु मात्रै पर्याप्त नहुने भन्दै पार्टीले गरेका निर्णय र प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा जस्तो जित्नेले सबै पाउने र पराजित हुनेले सबै गुमाउने अवस्थासँग तुलना गर्न नहुने उनको धारणा थियो।
प्रतिस्पर्धाका कारण केन्द्रीय समितिमा जिम्मेवारी नपाएका योग्य नेताहरूलाई पनि पार्टीको काममा समेटेर अघि बढाउनुपर्ने थापाले बताए। सबैको अनुभव, क्षमता र दक्षतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै उनले नेतृत्वमा फरक मत राख्नेहरूका लागि समेत उचित भूमिका सुनिश्चित गर्नुपर्ने बताए।
पार्टीभित्र प्रतिस्पर्धाका कारण उत्पन्न हुने तिक्तता र असहिष्णुता अन्त्य गर्नुपर्नेमा जोड दिँदै थापाले फरक समूहमा रहेका नेताहरूबीच पनि सहकार्यको वातावरण बनाउन आवश्यक रहेको बताए।
उनका अनुसार वडा तहदेखि केन्द्रसम्म अधिवेशनका क्रममा संस्थागत रूपमा गुट निर्माण हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिएको छ।
#GaganThapa #NepaliCongress #LocalElection #PartyConvention #NepalPolitics #DreamNewsNetwork
