कात्तिक ११ देखि १४ गतेसम्म वर्षाको सम्भावना, बाढीपहिरो र सडक जोखिमबाट जोगिन प्रशासनको अपिल
मकवानपुर । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लावासीलाई सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष बुलेटिनमा कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामार्फत सम्भावित वर्षाका कारण नदी तथा खोलामा अचानक बाढी आउने, डुबान र कटान हुने तथा पहिरो खस्ने जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।
प्रशासनले खेतमा पाकेर तयार भएको धानलगायतका कृषि उपज सुरक्षित रूपमा भित्र्याउन अनुरोध गरेको छ। वर्षा भइरहेका बेला बाली काट्ने काम नगर्न तथा खोला र नदी तर्ने, माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधिबाट टाढा रहन पनि भनिएको छ।
भारी वर्षाले सडक यातायात प्रभावित हुन सक्ने भएकाले त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्ग तथा ग्रामीण सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले सचेत गराएको छ। अत्यावश्यक कामबाहेक लामो दूरी र रातिको यात्रा नगर्न तथा यात्रा गर्नुपर्ने अवस्था आएमा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न आग्रह गरिएको छ।
त्यसैगरी, सम्भावित विपद्बाट जोगाउन बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई सुरक्षित स्थानमा राख्न तथा चौपायाको सुरक्षामा समेत ध्यान दिन भनिएको छ। प्रशासनले महत्त्वपूर्ण कागजात सुरक्षित राख्न र सम्भावित जोखिमको पूर्वतयारी गर्न पनि जिल्लावासीलाई अनुरोध गरेको छ।
