अनियमितता भेटिए तत्काल कारबाही गर्ने विभागको तयारी, व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना
काठमाडौँ । मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा छनोट भएका २५ वटा म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुगमन तथा अनुसन्धान अघि बढाएको छ।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार मंगलबारदेखि सम्बन्धित म्यानपावर कम्पनीहरूको अनुगमन सुरु गरिएको हो। अनुगमनका क्रममा कानुनविपरीतका गतिविधि वा अन्य कैफियत फेला परे तत्काल कारबाही गरिने उनले बताए।
अनुसन्धानलाई व्यवस्थित रूपमा अघि बढाउन विभागले अनुसन्धान अधिकृतसमेत तोकेको ढकालले जानकारी दिए। उनका अनुसार सम्बन्धित कम्पनीका सञ्चालकविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको छ।
विभागले मलेसियाको उक्त प्रणालीमा सीमित २५ वटा म्यानपावर कम्पनी मात्रै आबद्ध भएको विषयमा पनि छानबिन गरिरहेको छ। ती कम्पनीले प्रणालीमा एकाधिकार कायम गरेको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ।
यसैबीच, युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा रोजगारीका क्रममा देखिएका समस्या समाधान गर्न द्विपक्षीय संवादको प्रस्ताव अघि सारेको छ। मन्त्रालयले संयुक्त कार्य समूहको बैठक नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा आयोजना गर्न मलेसियासमक्ष प्रस्ताव गरेको हो।
उता, सम्बन्धित म्यानपावर व्यवसायीहरूले कूटनीतिक माध्यमबाट आफूहरूलाई मलेसियाको सूचीबाट हटाउन नेपाल सरकारसँग आग्रह गरेका थिए।
वैदेशिक रोजगार विभागले मलेसियाबाट छनोट गरिएका २५ कम्पनीका सञ्चालकसहित सम्बन्धित व्यवसायीलाई ३५ दिनभित्र विभागको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ। तोकिएको अवधिमा सम्पर्कमा नआए बैंकिङ कारोबार तथा यात्रा अनुमतिमा रोक लगाउने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।
