भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठ, पूर्वसूचना प्रणाली र जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को आयोजनामा हुने सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, नेपाल, थाइल्याण्ड र यूएन इस्क्यापको संयुक्त आयोजनामा बिहीबार हुने ‘सगरमाथादेखि सागरसम्म: एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाबाट सिकिएका पाठ’ विषयक कार्यशालामा पनि उनले धारणा राख्नेछन्।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार सम्मेलनका क्रममा विभिन्न देशका मन्त्रीहरूसँग पनि भेटवार्ता हुनेछ। ती छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, क्षेत्रीय स्याटेलाइट सेवाको निःशुल्क उपयोग सुनिश्चित गर्ने तथा जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी छ।
मन्त्री श्रेष्ठसँगको भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।
मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
