विष्णु पौडेलले निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए, महासचिव पोखरेलले प्रचारप्रसार व्यापक बनाउन आग्रह गरे
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई तीव्र बनाएको छ। भेलाको व्यवस्थापन, सहभागिता र उद्देश्यबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय च्यासलमा तयारी बैठक बसेको हो।
सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा बसेको बैठकमा पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाललगायत नेताहरू सहभागी थिए।
बैठकमा ढकालले भेलाको तयारीका लागि हालसम्म भएका काम र आगामी योजनाबारे जानकारी गराएका थिए। भेलालाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक व्यवस्थापन तथा अन्य तयारीका विषयमा पनि छलफल भएको थियो।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र साझा धारणा र एकरूपता विकास गर्नु भेलाको प्रमुख उद्देश्य रहेको बताए। पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र जनताका दैनिक समस्याबारे पार्टीका नेता तथा कार्यकर्ताबीच समान बुझाइ कायम गर्नुपर्ने उनको भनाइ थियो।
पौडेलले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको निर्णयअनुसार पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेता तथा कार्यकर्तालाई सक्रिय बनाउन पनि राष्ट्रिय भेला महत्वपूर्ण हुने उनले बताए।
उनले २०८२ सालको निर्वाचनमा प्राप्त परिणामलाई अस्थायी धक्काका रूपमा लिँदै पार्टीको संगठनात्मक शक्ति र राजनीतिक प्रभाव पुनः स्थापित गर्नुपर्ने धारणा राखे। निर्वाचनको तयारीसँगै आवश्यक परे सडकमा समेत सक्रिय हुन सक्ने गरी पार्टी पङ्क्तिलाई तयार राख्नुपर्ने उनको भनाइ थियो।
यसैगरी, महासचिव शंकर पोखरेलले राष्ट्रिय कार्यकर्ता भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक लाग्न आग्रह गरे। भेलाबाट प्रवाह हुने सन्देश पार्टीको तल्लो तहदेखि आम नागरिकसम्म पुर्याउन प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने उनले बताए।
संगठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश तथा जिल्ला तहका नेता, स्थानीय तहका प्रतिनिधि, जनसङ्गठनका सदस्य र विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहनेछ।
