कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा सतर्क रहन पर्यटक र पदयात्रीलाई अनुरोध
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको सम्भावना रहेकाले अध्यागमन विभागले पर्यटक तथा पदयात्रीलाई पदयात्रा नगर्न आग्रह गरेको छ।
विभागले मंगलबार जारी गरेको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसम र हिमपहिरोको जोखिम रहेको जानकारी गराएको उल्लेख छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले उक्त अवधिमा पर्यटकलाई सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्राका लागि अनुमति लिइसकेका व्यक्तिलाई समेत सुरक्षा सावधानी अपनाउँदै यात्रा स्थगित गर्न आग्रह गरिएको छ।
विभागका अनुसार जोखिमयुक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्राका लागि नयाँ अनुमति जारी नगरिने जानकारीसमेत गराइएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना र जोखिमबाट बच्न सबैलाई सतर्क रहन अनुरोध गरेका छन्।
