बडादशैंको लामो बिदाका कारण रक्तदान कार्यक्रमहरू सञ्चालन हुन नसक्दा केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात सकिएको रेडक्रसले जनाएको छ। अर्कोतर्फ, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि रगतको माग निरन्तर बढिरहेको छ। यसले आवश्यकताअनुसार रगत उपलब्ध गराउन चुनौती थपिएको छ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको जानकारी दिएका छन्। उनले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा गरेका युवायुवतीलाई रक्तदान गर्न आह्वान गरेका छन्।
रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले चाडपर्वका बेला रक्तदान कार्यक्रम घट्दा रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको बताए। उनले स्वयंसेवी रक्तदाता, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायलाई रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले हाल देशका ७३ जिल्लामा १२० स्थानबाट रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।
