काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न रहेको आरोपमा भारतको बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय राजेन्द्र कुमार भनिने लल्लु पोदार र ४६ वर्षीया विणा देवीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार विणा देवी र विकास पोदार आमाछोरा हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले काठमाडौंको कलंकीस्थित तासिङडोल मार्गमा रहेको किसन सिंह बस्नेतको घर र त्यही घरमा सांसद थपलिया बस्दै आएको डेरामा चोरी गरेका थिए। यसका अतिरिक्त कलंकीकै रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा समेत चोरी गरेको पाइएको प्रहरीले जनाएको छ।
सांसद थपलिया ५ कात्तिकमा सुर्खेतबाट काठमाडौं फर्किएर आफ्नो कोठामा पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा चारै जनालाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीहरू चोरीका सामान पोका पारेर भारत जाने तयारीमा रहेका बेला पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुनचाँदीका गरगहनादेखि वाइनसम्म चोरी गरेका थिए। दशैंको समयलाई लक्षित गरी चोरी गरेको र लुटिएका सामान भारत लगेर बिक्री गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूबाट विभिन्न आकारप्रकारका सुनचाँदीका गरगहना तथा भाँडावर्तन गरी ३२ थान सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
