काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत नेपाल भित्र्याइएको दुई किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार अमेरिकाबाट कागजातको आवरणमा कुरियर गरी पठाइएको २ किलो ३३८ ग्राम गाँजा मंगलबार नियन्त्रणमा लिइएको थियो। प्रहरीले निगरानीमा सामान गन्तव्यसम्म पुर्याउने ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गरी उक्त लागूऔषध बरामद गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट गाँजासहित दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
