बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने उनको दाबी छ।
अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि नेपाली जनतालाई धोका दिइरहेको आरोप लगाए। सरकार बलजफ्ती अघि बढिरहेको उनको भनाइ छ। नेपाल प्रहरीले बर्दीबिना पक्राउ गर्न जाने गरेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे। प्रहरी आवारा शैलीमा प्रस्तुत हुनु उचित नभएको उनको तर्क छ।
ओलीले भने, “देश गम्भीर अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ। आन्दोलनको कुरा सुन्नै नहुने र पन्छिन खोज्ने खालको मनस्थिति पनि नबनाऔँ। आन्दोलनले शक्ति आर्जन गर्ने हो। आन्दोलनले नै शक्ति आर्जन गर्छ।
“यति असहज र अप्ठ्यारो स्थिति छ। आन्दोलनबाहेक अर्को बाटोबाट अघि बढ्न खोज्यौँ वा आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले टिकाउने हो, आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो।
“अब दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र र शान्तिको कुरा गर्दै घाँटीका नसा फुलिन्जेल कराउँछन् र दुनियाँलाई धोका दिन्छन्। तर, व्यवहारमा मानिसहरूलाई मार्ने षड्यन्त्र गर्छन्। त्यसरी मारिएका मानिसलाई हतियार बनाएर आगजनी, लुटपाट, तोडफोड, कुटपिट र आतंक फैलाउने षड्यन्त्र गरिन्छ। कोही पनि मानिस बोल्न नसक्ने गरी आतंकको शासन सिर्जना गरिएको छ। बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी, बोल्यो कि बिना कारण कारबाही। प्रहरीसँग पोसाक छैन? पोसाक नलगाई जाने प्रहरी आवारा हो? गुण्डा हो प्रहरी? बिनाबर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने? गुण्डा हो कि को हो? बलजफ्ती गरेर ढोका फोडेर भित्र पस्ने?”
अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको आरोप पनि लगाए। सिंगो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको उनको भनाइ छ। तत्काल वा तिहार तथा छठपछि जुनसुकै समयमा आन्दोलन हुन सक्ने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित तयारी अवस्थामा रहन निर्देशन दिए।
ओलीले भने, “अराजकतावादी राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ। यस्तो अवस्थामा सिंगो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको छ। हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन। अहिले, भरे, भोलि, तिहारपछि वा छठपछि जुनसुकै समयमा आन्दोलन हुन सक्छ, त्यसैले हामी मानसिक रूपमा तयार रहनुपर्छ। भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ।
“चुनाव आउँदैछ। जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रोसँग पराजित गर्न खोजिएको थियो, यसपटकको चुनावबाट त्यसलाई दिवास्वप्नमा परिणत गरिदिनुपर्छ।”
अध्यक्ष ओलीले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
