काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीले सयौँको ज्यान गएको तथा धेरै नागरिक सम्पर्कविहीन भएको पीडितहरूले बताएका छन्।
बाढीका कारण रसुवाको टिमुरे, बेत्रावती, स्याँप्रुवेशीलगायतका बजार तथा बस्तीहरू तहसनहस भएका छन्। रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानीयका अनुसार बाढीले बस्ती नै बगाएपछि अहिले धेरै परिवार घरबारविहीन बनेका छन्।
बेत्रावतीबाट आफन्त तथा स्थानीयको सहयोगमा करिब नौ घण्टासम्मको कठिन यात्रा गरेर आइतबार राति केही बाढीपीडित काठमाडौं आइपुगेका छन्। उनीहरूले बाढीबाट ठूलो क्षति भए पनि प्रभावित क्षेत्रमा उद्धार तथा राहत समयमै पुग्न नसकेको गुनासो गरेका छन्।
रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावतीकी शान्ति अधिकारीले बाढी आउन लागेको जानकारी पाएपछि स्थानीयवासी आफैँ एकअर्कालाई खबर गर्दै सुरक्षित स्थानतर्फ भागेको बताइन्। उनका अनुसार तत्कालीन वडाध्यक्षले स्कुटरमा गाउँ–गाउँ पुगेर बाढीको सूचना दिएकाले धेरैले ज्यान जोगाउन सकेका थिए।
उनले प्रहरीले समयमै पूर्वसूचना नदिएको गुनासो गर्दै बाढीले सयौँ मानिस तथा घरहरू बगाएको बताइन्। उनका अनुसार बाढीअघि रसुवातर्फ मात्रै करिब एक सय घरको बस्ती रहेकोमा अहिले त्यहाँ घरबस्तीको नामोनिसानसमेत छैन।
‘मेरो दुई रोपनीमा घर थियो, अहिले नामोनिसान केही छैन, सुकुम्बासी भयौँ,’ उनले भनिन्। राहत सामग्री नुवाकोटको विदुरमा थुप्रिएको तर रसुवातर्फ लैजान नसकिएको भन्दै उनले सरकारले तत्काल सडक तथा पुल निर्माण गरी प्रभावित नागरिकको पुनःस्थापना गर्नुपर्ने माग गरिन्।
‘बेलैमा उद्धार भएको भए धेरै मानिस बाँच्थे’
नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले पनि आफूहरूलाई प्रभावकारी पूर्वसूचना नदिइएको गुनासो गरिन्। बाढीको भयावह रूपबारे जानकारी पाएपछि श्रीमान्–श्रीमती नै माथिल्लो डाँडातर्फ भागेर ज्यान जोगाउन सफल भएको उनले बताइन्।
डाँडामा पुगेपछि बेत्रावती बजार तहसनहस भएको, मानिसहरू बगिरहेको र घरहरू ढलिरहेको दृश्य देखेको उनले बताइन्। बाढीमा फसेका मानिसहरू उद्धारका लागि गुहार मागिरहेको देखे पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ।
उनका अनुसार बाढी आएको करिब तीन दिनपछि मात्रै उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको थियो। हेलिकप्टरहरू उडिरहेको देखिए पनि फसेका मानिसको उद्धार हुन नसकेको उनले बताइन्।
‘बेलैमा सरकार पुगेर उद्धार गरेको भए धेरै मानिस बाँच्ने सम्भावना थियो,’ डंगोलले भनिन्। उनका अनुसार बाढीमा उनका बहिनीसहित परिवारका धेरै सदस्यले ज्यान गुमाएका छन्।
उनले अब जीवित व्यक्तिको उद्धार गर्न नसके पनि बाढीमा बेपत्ता भएका तथा मृत्यु भएकाहरूको शव खोजीलाई तीव्रता दिन सरकारसँग आग्रह गरेकी छन्।
‘बगरभरि शव छन्, गन्हाउन थालिसके’
रसुवाकी शान्ता थापाले बाढीमा ज्यान गुमाएकाहरूको शव अझै बगरभरि रहेको बताइन्। धेरै शव निकाल्न बाँकी रहेको र केही शव गन्हाउन थालिसकेको उनले दाबी गरिन्।
नजिकै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका संरचना रहे पनि उद्धार तथा शव खोजीका लागि पर्याप्त जनशक्ति नपुगेको उनको गुनासो छ।
बाढीबाट घरबारविहीन बनेका नागरिकका लागि सरकारले तत्काल गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने तथा सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने उनको माग छ।
व्यापारीको ५० लाखभन्दा बढीको सामान बग्यो
बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका अनुसार बाढीमा उनकी आमा, बाजे तथा पसलमा काम गर्ने महिलासहित परिवारका चार जना सम्पर्कविहीन छन्।
बाढीले उनको पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान समेत बगाएको उनले बताए। बेपत्ता परिवारका सदस्यको खोजीलाई तीव्रता दिन सरकारसँग आग्रह गर्दै उनले रसुवाका दुर्गम प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन माग गरे।
उनका अनुसार नुवाकोटको विदुरसम्म राहत सामग्री पुगे पनि रसुवातर्फ लैजान कठिनाइ भएको छ। रसुवामा ग्यास, नुन, चामल र तेललगायतका अत्यावश्यक सामग्रीको अभाव हुन थालेको उनले बताए।
‘ऐतिहासिक बेत्रावतीको अस्तित्व नै रहेन’
बेत्रावतीकी रानु अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अहिले अस्तित्व नै नरहेको बताइन्।
बस्ती खोलाको छेउमा बसेका कारण क्षति भएको भन्ने तर्कप्रति असन्तुष्टि जनाउँदै उनले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक महत्व बोकेको स्थान भएको बताइन्।
बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको र धेरै मानिस अझै सम्पर्कविहीन रहेको भन्दै उनले सरकारले बेपत्ता आफन्तको खोजी र शवको उद्धारलाई प्राथमिकता दिनुपर्ने बताइन्।
उनका अनुसार काठमाडौं आएका अधिकांश पीडित आफैँ आफ्नो व्यवस्था गरेर आएका छन्। तर बेत्रावती र त्यसभन्दा माथिका गाउँमा अझै ठूलो संख्यामा नागरिक राहतको पर्खाइमा रहेको उनले बताइन्।
रसुवाका दुर्गम क्षेत्रमा राहत पुर्याउन माग
बाढीपीडितहरूले सरकारले संकलन गरेको राहत सामग्री नुवाकोटको विदुरमा थुप्रिएको तर रसुवाका प्रभावित क्षेत्रमा पर्याप्त रूपमा पुग्न नसकेको गुनासो गरेका छन्।
उनीहरूले नुवाकोटबाट रसुवातर्फको सडक तथा सम्पर्क सञ्जाल तत्काल खुलाएर चीन सीमासम्मका प्रभावित क्षेत्रमा राहत र उद्धार टोली पुर्याउन सरकारसँग आग्रह गरेका छन्।
काठमाडौं आइपुगेका पीडितहरूले आफूहरूलाई तत्काल राहतभन्दा पनि गाउँमै रहेका र अझै विचल्लीमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।
बाढीबाट विस्थापित नागरिकले पारदर्शी र न्यायोचित रूपमा राहत वितरण, बेपत्ताको खोजी, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनाको काम तत्काल अघि बढाउन माग गरेका छन्।
– न्युज एजेन्सी नेपाल
