माइकलले दक्षिण अफ्रिकाकी नर्स भएको दाबी गर्ने ‘मेलानी’ नामकी महिलासँग करिब १२ महिनासम्म अनलाइन सम्बन्ध राखेका थिए। नियमित भिडियो कल र व्यक्तिगत कुराकानीका कारण उनले ती महिलालाई वास्तविक ठाने। उनको पहिचान पुष्टि गर्न माइकलले राहदानी, परिचयपत्र र नर्सिङ दर्तासम्बन्धी कागजातसमेत मागेका थिए।
महिलाले व्यक्तिगत तस्बिरहरू पठाउनुका साथै भिडियो कलमा पनि कुराकानी गर्ने गरेकाले माइकलको विश्वास बढ्दै गएको थियो। यही विश्वासको फाइदा उठाउँदै ठगहरूले उनीसँग आर्थिक सहयोग माग्न थाले। माइकल भावनात्मक रूपमा सम्बन्धमा जोडिइसकेकाले सहयोग गर्न तयार भए।
तर, पछि उक्त सम्बन्ध योजनाबद्ध ठगी भएको खुलेको थियो। ठगहरूले अमेरिकाकी एक महिला चिकित्सकका तस्बिर र भिडियो सामाजिक सञ्जालबाट लिएर तिनलाई सम्पादन गरेका थिए। त्यसपछि आवाजको नक्कल गर्ने प्रविधि र फेस-स्वापिङ एप प्रयोग गरी भिडियो कलमा वास्तविक व्यक्ति जस्तो देखिने नक्कली दृश्य तयार पारिएको थियो।
क्विन्सल्यान्ड विश्वविद्यालयकी साइबर सुरक्षा तथा डिजिटल फोरेन्सिक विशेषज्ञ डा. प्रियंका सिंहले उक्त भिडियोको विश्लेषण गर्दा केही अस्वाभाविक दृश्य फेला पारेकी थिइन्। उनका अनुसार महिलाको कानको मुन्द्रा र कपालको चाल स्वाभाविक देखिँदैनथ्यो। भिडियोको गति बढाएर हेर्दा उनी बसेको कुर्सीको आकार परिवर्तन हुने र हराउने गरेको समेत देखिएको थियो।
त्यस्तै, महिलाले अनुहारमा हात लैजाँदा हातमा छवटा औँला देखिएको थियो। यस्ता प्राविधिक त्रुटिले भिडियो एआई तथा फेस-स्वापिङ प्रविधिबाट बनाइएको हुन सक्ने सङ्केत गरेको थियो।
माइकलकी छोरीले उक्त सम्बन्धप्रति शङ्का व्यक्त गरेपछि उनले अन्तिम भिडियो कल रेकर्ड गर्दै महिलाको वास्तविक पहिचानबारे प्रश्न गरेका थिए। ठगीको रहस्य खुलेपछि पनि ती व्यक्तिले भावनात्मक दबाब दिएर थप रकम माग्ने प्रयास गरेका थिए। तर, माइकलले रकम दिन अस्वीकार गरेपछि सम्पर्क काटिएको थियो।
माइकलले प्रहरीमा उजुरी दिए पनि ठगीमा संलग्न व्यक्ति अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित भएकाले रकम फिर्ता पाउने सम्भावना कठिन देखिएको विवरणमा उल्लेख छ।
एआईबाट हुने अनलाइन प्रेम ठगी कसरी हुन्छ?
अनलाइनमा नक्कली पहिचान बनाएर विश्वास जित्ने र त्यसपछि पैसा असुल्ने प्रवृत्तिमा एआई प्रविधिको प्रयोग थप चुनौतीपूर्ण बन्दै गएको छ। सामाजिक सञ्जाल वा डेटिङ एपमार्फत सम्पर्क गर्ने ठगहरूले सुरुमा नियमित कुराकानी गरेर भावनात्मक सम्बन्ध स्थापित गर्छन्। त्यसपछि आकस्मिक समस्या, उपचार खर्च, यात्रा खर्च वा अन्य बहानामा आर्थिक सहयोग माग्न सक्छन्।
केही अवस्थामा उनीहरूले आकर्षक प्रतिफलको आश्वासन दिँदै लगानी गर्न वा क्रिप्टोकरेन्सीमा रकम राख्नसमेत प्रोत्साहित गर्न सक्छन्। नक्कली तस्बिर, आवाज, भिडियो र कागजात प्रयोग गरेर व्यक्तिको वास्तविक पहिचान लुकाउन सकिने भएकाले यस्तो ठगी पहिचान गर्न कठिन हुन सक्छ।
नेपाली सामाजिक सञ्जाल एप ‘थोप्ला’का विकासकर्ता उज्ज्वल खनालका अनुसार एआईको प्रयोगबाट वास्तविकजस्तै देखिने तस्बिर, आवाज र भिडियो बनाउन सकिन्छ। त्यसैले भिडियो कलमा अनुहार देखिएको वा फोनमा आवाज सुनिएको आधारमा मात्र कसैको पहिचान पुष्टि भएको मान्न नहुने उनले बताएका छन्।
अनलाइन सम्बन्धका आधारमा पैसा पठाउन, लगानी गर्न वा बैंक तथा व्यक्तिगत विवरण उपलब्ध गराउनुअघि सम्बन्धित व्यक्तिको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्नुपर्ने खनालको सुझाव छ।
अनलाइन प्रेम ठगीबाट कसरी बच्ने?
यस्ता ठगीबाट जोगिन अनलाइनमा चिनजान भएको व्यक्तिले पैसा माग्दा वा लगानी गर्न दबाब दिँदा हतारमा निर्णय गर्नु हुँदैन। भिडियो कलमा देखिएको अनुहार र सुनिएको आवाज वास्तविक व्यक्तिकै हो भन्ने सुनिश्चित नहुने भएकाले थप सावधानी आवश्यक हुन्छ।
सुरक्षित रहन निम्न उपाय अपनाउन सकिन्छ:
-
पहिचान पुष्टि गर्ने: व्यक्तिले दिएको परिचय, काम गर्ने संस्था र सम्पर्क विवरण स्वतन्त्र तथा विश्वसनीय स्रोतबाट जाँच गर्ने।
-
तस्बिर जाँच गर्ने: रिभर्स इमेज सर्च प्रयोग गरेर तस्बिर अन्य व्यक्तिको नाममा प्रयोग भएको छ कि छैन हेर्ने। यद्यपि, यसले मात्र वास्तविक पहिचान पुष्टि गर्दैन।
-
आर्थिक कारोबारमा सावधानी अपनाउने: अनलाइनमा मात्रै चिनजान भएको व्यक्तिलाई पैसा नपठाउने र व्यक्तिगत बैंक विवरण उपलब्ध नगराउने।
-
दबाबमा नपर्ने: सम्बन्ध गोप्य राख्न, तत्काल पैसा पठाउन वा थप रकम नदिए सम्बन्ध बिगार्ने धम्की दिने व्यक्तिप्रति सतर्क रहने।
-
प्रमाण सुरक्षित राख्ने: शङ्का लागेमा सन्देश, फोन नम्बर, खाताको विवरण र कारोबारका रसिद सुरक्षित राख्ने।
ठगीमा परेको शङ्का भएमा सम्बन्धित बैंक वा भुक्तानी सेवा प्रदायकलाई तत्काल सम्पर्क गरी कारोबार रोक्न वा रकम फिर्ता ल्याउन सकिने सम्भावनाबारे बुझ्नुपर्छ। आवश्यकताअनुसार प्रहरीमा उजुरी दिनुपर्छ।
अस्ट्रेलियामा यस्ता घटनाबारे स्क्यामवाच वा अस्ट्रेलियाली साइबर सुरक्षा केन्द्रमा जानकारी दिन सकिन्छ।
एआई प्रविधिको विकाससँगै डिजिटल ठगीका तरिका पनि परिष्कृत हुँदै गएका छन्। त्यसैले अनलाइनमा बनेको सम्बन्धमा भावनात्मक विश्वासका साथै पहिचानको स्वतन्त्र पुष्टि र आर्थिक सुरक्षालाई प्राथमिकता दिन आवश्यक छ।
स्रोत सन्दर्भ: नाइन डट कमको सहयोगमा; नेपाली सन्दर्भमा अनलाइनखबरसँगको कुराकानी।
